कोरोना भाइरसको संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका तीनसहित १४ जिल्लालाई कोरोना भाइरसको संक्रमणबाट अति प्रभावितमा क्षेत्रमा बर्गीकरण गरेको छ।
मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको हो।
मन्त्रालयले यस क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत सबैमा अपील गरेको छ।
‘अति प्रभावित भनी वर्गीकरण गरेका जिल्लाहरुमा बढी भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने भएपनि विद्यालय, रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल आदि स्थानमा सहभागी नभई दिनु’ स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले भनेको छ। मन्त्रालयले भिडभाड हुने यस्ता क्षेत्रमा जमघट नगर्न अपिल गरेको छ।
मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न पनि अनुरोध गरेको छ। साथै, मन्त्रालयले अस्पतालहरुलाई अनिबार्य रुपमा फिवर क्लिनिक संचालन गर्न, कोभिड परीक्षणका लागि नमून संकलन तथा व्यबस्थापन गर्न पनि अनुरोध गरेको छ।