काठमाडौं फेरि विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ ।वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमले सोमबार बिहान गरेकाे अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । एआईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण ३३१ पुगेको छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
गत शुक्रबार वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको छ ।काठमाडौंमा अहिले तुवाँले ढाकेको छ । घाम लाग्न सकेको छैन । काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगलागी र डढेलोसँगै मुलुकभर पश्चिमी वायुको प्रभावले प्रदूषित हावा काठमाडौँको आकाशमा आएर धुप्रिएको मौसमविद्ले बताएका छन् ।काठमाडौँपछि दोस्रो नम्बरमा बंगलादेशको ढाका शहर परेको छ ।सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ ।