सरकारले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको १० लाख डोज कोभिसिल्ड खोप नेपाल ल्याइएको छ ।
सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड–१९ विरुद्धको पहिलो चरणको १० लाख डोज कोभिसिल्ड खोप आइतबार दिउँसो एयर इन्डियाको विमानबाट नेपाल ल्याइएको हो । सरकारले फागुन २३ गतेदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो। नेपाल सरकारलेफागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। सरकारले प्रति डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो।
सो खोप यही फागुन २३ गतेदेखि देशैभरका खोप केन्द्रहरुमा वितरण गरिने स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । किनिएको २० लाख डोज खोपमध्ये बाँकी १० लाख डोज पनि छिट्टै प्राप्त हुने उनले बताए ।
दोस्रो चरणको खोप अभियानमा सुरुमा ६० वर्षभन्दा माथिका उमेर समूहलाई खोप लगाइने उनले बताए। छिटो खोप ल्याउने देशमा नेपाल पनि पर्ने उहाँको दाबी छ । दोस्रो चरणमा नै औषधी व्यवसायी, सरसफाइएमा खटिएका कर्मचारी, महाविद्यालय तथा विद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई समेत खोप दिइने उनँले जानकारी दिए । उनले यसअघि पहिलो चरणमा खोप प्रदान गरिएकाहरुमध्ये केहीलाई मात्र सामान्य असर देखिएकाले ढुक्क भएर सबैलाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह समेत गरे । उनलै सहुलियत मुल्यमा भारत सरकारले खोप उपलब्ध गराएको भन्दै धन्यवाद समेत ज्ञापन गरे ।
यसअघि भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप गत माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरि लगाइएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स, शववाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कूटनीतिक नियोगका कर्मचारीलाई खोप दिइएको छ।