हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलालाई छाक टार्नै मुस्किल हुने गरेको छ । अशिक्षा र चरम गरिबीले थलिएका उनीहरुलाई हरेक दिन छाक टार्ने कुराले नै पिरोल्ने गरेको छ ।
जिल्लाका अधिकांश दलित समुदायको अर्थावस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने, ढुङ्गा बोक्ने, मल बोक्नेलगायतका काम गरेर पनि बिहान बेलुकीको छाक टार्न धौधौ पर्ने गरेको उनीहरुको गुनासो छ । “पढ्ने लेख्ने कलिलै उमेरमा बिहे गराइदिए, घरमा कसैको रोजगारी छैन, एक छाक टार्न पनि दशपटक सोच्नुपर्ने बाध्यता छ”, त्रिपुरासुन्दरी नगरपालिका–१ बस्ने कलमी सार्कीले भनिन् ।
“बिहान–बेलुकी छाक टार्नकै लागि दैनिक मजदुरी नगरी सुख छैन, एक छाक खान र एकसरो लगाउन रातदिन नभनी ढुङ्गा–माटोसँग खेल्नुपर्ने बाध्यता छ ।” गरिबीकै कारण औषधोपचार गर्ने पैसा नपाएर घर नजिकै बस्ने एक छिमेकी महिलाको आँखै अगाडि मृत्यु भएको भन्दै सार्कीले दःुख व्यक्त गरिन्। दलितलाई ढुङ्गा कुटेर पनि खान नपुग्ने र पढेलेखेकाले पनि जागिर नपाउने अवस्था अझै नछुटेको स्थानीयवासी गीता सार्कीले बताइन् ।
त्यसैगरी अर्की रुप्सी सार्कीको पीडा पनि उस्तै छ । खाइनखाई अर्काको मजदुरी गरेर पढाएका छोराछोरी पनि जागिर नपाएर अर्काकै मजदुरी गर्न बाध्य भएको बताइन् । “बाबुआमाको जस्तै दैनिक मजदुरी गरेर खानुपर्ने अवस्था नआओस् भन्दै शरीरलाई रातदिन पिसेर छोरालाई कक्षा १२ पास गराएँ, अहिले त्यही छोरो सानोतिनो जागिर पनि नपाएर मजदुरीमै लाग्न बाध्य भयो, दलितलाई पढेलेखेर पनि के काम छ”, उनले गुनासो गरिन्। दुर्गम ठाउँका पढेलेखेका दलित शक्ति र पहुँच नभएकै कारण जागिरको आशा मारेर मजदुरीमै लाग्न बाध्य हुने गरेको उनको भनाइ छ । “