यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमि जस्ता भएका छन् । हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् ।
“सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन”, किसान याङ्डु गुरुङले भन्नुभयो ।
विगतमा मङ्सिर शुरु नहुँदै डाँडाकाँडा हिउँले सेताम्मे हुन्थ्यो । चारैतिर सेता हिमाल टल्किन्थे । केही वर्षयता भने हिउँ कम पर्न थालेको छ । यसपालि हिमपात नहुँदा सेता हिमाल कालापत्थरमा परिणत भएको छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने हिमालमा अन्नपूर्ण दोस्रो, तेस्रो, चौथो, गङ्गापूर्ण, लमजुङ हिमाल छन् । अन्य ससाना चुचुरा छन् ।
हिमाली जिल्ला मनाङमा गतवर्ष मङ्सिर पहिलो साता भारी हिमपात भएको थियो । बाक्लो हिउँ परेकाले धेरै समयसम्म हिमाल सेता देखिएका थिए । यस वर्ष खास याममा समेत हिमपात भएको छैन । हिमपातमा कमी आउन थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।
पिसाङका रामबहादुर गुरुङ जाडो मौसममा पहिलेजस्तो हिउँ पर्न छाडेको बताउँछन् । उनका अनुसार जाडो याममा हिउँले डाँडाहरू सबैतिर सेताम्मे देखिन्थ्यो, हिजोआज हिमालमा समेत हिउँ छैन, सेता हिमाल काला हुँदै गएका छन् ।
पहिले सात फिटसम्म हिउँ परे पनि हिजोआज एक फिट हिउँ पनि नपरेको रामबहादुर बताउँछन् । मनाङका अन्नपूर्ण, गङ्गापूर्ण, लमजुङलगायत हिमाल आधाभन्दा बढी भाग कालापत्थरमा रूपान्तरण भइसकेका छन् । हिउँ पर्न छाडेपछि यहाँको तापक्रमसमेत बढ्न थालेको छ । यहाँका हिमनदी पग्लने क्रम बढेको छ ।
हिउँ पर्न छाडेपछि जिल्लाका लेक र खर्कमा पाइने यार्सागुम्बा, नीरमसी, जटामसी, वनलसुन, कुट्कीलगायत बहुमूल्य जडीबुटी उत्पादनमा समेत कमी आउन थालेको छ । याममा परेको हिउँले बाली सप्रिने भए पनि माघ लागिसक्दा समेत हिउँ नपर्दा किसान चिन्तित भएका हुन् ।रासस