मुलुकमा प्रजातन्त्र र गणतन्त्र प्राप्तिका लागि सहादत प्राप्त गरेका ज्ञात-अज्ञात शहीदहरूकाे सम्झनामा आजदेखि साताव्यापी शहीद दिवस सुरू भएकाे छ । प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म सप्ताहव्यापी रूपमा शहीद दिवस मनाउने गरिएकाे छ ।
शनिवार बिहान ८ः०० बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेकाे स्थानमा श्रद्धाञ्जलिसभा गरिएर कार्यक्रमको थालनी भएकाे छ ।
त्यस्तै माघ १३ गते बिहान ८ः०० बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेकाे स्थानमा र माघ १५ गते बिहान ८ः०० बजे गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेकाे स्थान शोभा भगवतीमा श्रद्धाञ्जलिसभा आयोजना गरिने छ ।
सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलिसभामा परिणत हुने जनाइएको छ । त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहनेछ ।
यस वर्ष पनि शहीद सप्ताह मूल समारोह समितिका संयोजकको रूपका कामपाको प्रमुख विद्यासुन्दर शाक्य रहेका छन् । विसं २०१२ देखि काठमाडौँ नगरको संयोजकत्वमा शहीद सप्ताहअन्तर्गतका कार्यक्रम मनाइँदै आएको छ ।