राैतहट,महोत्तरीसहितका मध्यपूर्वी तराईमा अचाक्ली बढेको चिसोले जनजीवन झन्झन् कष्टकर हुँदै गएको छ ।
पछिल्लो एक सातायता घाम नदेखिएर लगलगी मुटु कमाउने जाडो बढ्दै गएपछि जनजीवन कष्टकर बन्दै गएको हो । गत पुस २७ गतेयता महोत्तरीमा घाम देखिएको छैन । जताततै हुस्सुले डम्म ढाकेको छ । बेगले बहने चिसो स्याँठ र लगातारजसो परिरहेको तुषारोले जाडो बढाएपछि कतै काममा निस्कन नसकेर कैदीजस्तै बनिएको त्यहाँका बासिन्दा बताउँछन् ।
“बारीका तरकारीका बोट पहेँलिदै गए, टमाटर त बोटमै कुहिएर आफैँ भुइँमा झर्दैछन्”, महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहा भन्छन्, “अन्य कोसे तरकारी (सिमी, केराउ, मटर) का बोट, लहरा, फलफूल र कोसा पनि कक्रक्क परेका छन् ।”
कुशवाहाजस्तै यसै बस्तीका रामविनोद महतो, जवाहर महतो र भोला महतो पनि लगातार एक साताको शीतलहरले तरकारी बालीबाट हात धुने अवस्था बनेको चिन्ता जनाउँछन् । लगातार चिसो बढ्दै जाँदा दूध दिने गाई, भैँसी सुक्दै गएका छन् ।
लगातार मौसम चिसिँदै जाँदा बजारु चहलपहल स्वात्तै घटेको छ । किसानले फसल बजार पुर्याउन नसकेपछि बजारका स्थायी व्यापारीको भाउमा मनोमानी बढेको छ । मौसम जति बिग्रे पनि भान्सामा नभई नहुने वस्तु लिन जाँदा ल्याउनै पर्ने भएपछि आपूmहरु मूल्यको मारमा परेको बजारु उपभोक्ता बताउँछन् । यता लगातारको चिसोले बस्ती÷बस्तीमा बिरामी हुनेको सङ्ख्या बढेको छ । दम, खोकी र हाडजोर्नी दुख्ने व्यथाका बिरामी ह्वात्तै बढेका छन् ।
खासमा गरिब बस्तीका वृद्धवृद्धा, स–साना दूधेनानी र सुत्केरी बढी जोखिममा परेका बर्दिवास अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विधानचन्द्र झा बताउँछन् ।रासस