गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ ।
समाजसेवीत्रय दीपकुमार भण्डारी, डा लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको होे । हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति शुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राखे ।
करिब रु छ लाखको लागतमा कक्षा ३ सम्मका विद्यार्थीका लागि कक्षाकोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तक उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताए । विज्ञबाट छानिएका पुस्तकको अध्ययनसँगै स–साना विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । शिक्षाविद्समेत रहनुभएका डा आचार्यले विद्यार्थीमा पठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको बताए ।
विद्यार्थीको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको भनाइ थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिबिना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताउनुभयो । नगरपालिकामा मङ्गलबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे।
सामुदायिक विद्यालयबाट शुरु गरिएको अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको समाजसेवीत्रयको विश्वास छ । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो ।