सरकारले तोकेको सेवा सुविधा नपाएको भन्दै वीर अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु ४४ दिनदेखि आन्दोलनमा छन्।
आन्दोलित स्वास्थ्यकर्मीहरुले मंगलबार पनि वीर अस्पताल परिसरमा धर्ना दिदै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाएका छन्। उनीहरुले न्याम्सका पदाधिकारीहरुलाई अस्पताल प्रवेश गर्न समेत दिएका छैनन्।
कोभिड–१९ का बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सरकारले तोकेका सेवा सुविधा समेत नपाएकाले आफुहरु आन्दोलन गर्न बाध्य भएको वीर अस्पताल कर्मचारी आन्दोलन संयुक्त संघर्ष समितिका प्रवक्ता धुर्वराज आचार्यले बताए।
आफ्ना मागलार्इं न्याम्सका पदाधिकारीहरुले वेवास्ता गरेको उनको गुनासो थियो। अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण वीर अस्पतालको सेवा प्रभावित भएको पनि उनले बताए। ४ सय शय्याको वीर अस्पतालमा अहिले ४० शय्यामा मात्र बिरामी रहेको र ३५० शय्या खाली अवस्थामा छ।
वीर अस्पतालमा सरकारी र न्याम्सका गरी दुई थरिका कर्मचारी रहेको जानकारी दिदै उनले सरकारी कर्मचारीले मात्र सेवा सुविधा पाएको तर न्याम्स अन्तर्गतका कर्मचारीले सेवा सुविधा नपाएकाले सरकारले दुवै तर्फका कर्मचारीलाई सेवासुविधा दिनुपर्ने आफूहरुको माग भएको आचार्यको भनाई छ।
सरकारले चाहेमा आफ्ना मागहरु पुरा गर्न गाह्रो नभएको भन्दै उनले आगामी १९ गतेभित्र आफ्ना मागहरु पुरा नभए अस्पतालको सबै सेवा ठप्प पार्ने चेतावनी समेत दिए।