काेराेनाकाे कारण वैशाखमा रोकिएको कक्षा १२ को परीक्षा आजबाट शुरु भएकाे छ । ४ हजार १ सय ५ विद्यालयमा हुने परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड अपनाइएको छ । देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी भएका छन् ।परीक्षाकाे समय साढे १ घण्टा निर्धारण गरिएकाे छ ।
एउटा कोठामा दुई मिटरको दूरी हुने गरी २० जनासम्म मात्र राख्न पाइने व्यवस्था गरिएकाे छ । यो वर्ष बोर्डले उपत्यका, पूर्वाञ्चल, पश्चिमाञ्चललगायतका प्रदेशअनुसार फरक प्रश्नपत्र तयार गरेको छ ।बोर्डले कोभिड संक्रमण देखिएका विद्यार्थीलाई छुट्टै परीक्षा दिने व्यवस्था गरेको छ ।
परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म डेढ घण्टाको हुनेछ । मंसिर ९ देखि सो परीक्षा १६ गतेसम्म हुनेछ । बोर्डले यो वर्ष ४० प्रतिशतका लागि मात्रै परीक्षा सञ्चालन गर्न लागेको हो । बाँकी ६० प्रतिशतमध्ये ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिनेछ ।
कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त विषयगत प्राप्तांकलाई शतप्रतिशत मानी ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिनेछ ।
बोर्डले परीक्षा सञ्चालन कार्यविधिमा उल्लेख भएअनुसार परीक्षा सञ्चालन भएकाे छ । परीक्षाअघि सबै प्रदेश र सम्पर्क कार्यालयले सबै केन्द्राध्यक्षलाई भर्चुअल माध्यमबाट कार्यविधिको विषयमा निर्देशन दिएकाे थियाे ।