कक्षा १२ को परीक्षा भाेलि( मंसिर ९) गतेदेखि सुरु हुँदै छ । यस पटकको परीक्षामा होम सेन्टर (आफू रहेको स्थान नजिकको परीक्षा केन्द्र)बाट पनि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
यसपटक कूल पूर्णांकमध्ये ४० प्रतिशतको मात्र संक्षिप्त परीक्षा हुने छ । बाँकी ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंकको आधारमा विद्यार्थीहरुले नम्बर पाउने छन् ।
बाँकी २० प्रतिशत कक्षाकार्य, गृहकार्य, अतिरिक्त क्रियाकलापलाई आधार मानेर विद्यालयले आन्तरिक मूल्यांकन गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डले यो परीक्षा सम्पन्न गर्दैछ । परीक्षाको सिलसिलामा परीक्षार्थीहरुलाई कोभिड संक्रमण पुष्टि भई परीक्षामा सहभागी हुन नसक्ने भएमा पुनः परीक्षा दिन पाउने व्यवस्थासमेत मिलाइएको छ ।
यसैबीच, शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई कोरोना सम्बन्धी मापदण्ड सही ढंगले पालना गर्न र ढुक्क भएर परीक्षा दिन अनुरोध गरेका छन् । परीक्षाको पूर्वसन्ध्यामा एक अपिल सार्वजनिक गर्दै मन्त्री पोख्रेलले परीक्षा केन्द्र वरिपरी भिडभाड नगरिदिन अभिभावकहरुलाई समेत अनुरोध गरेका छन् ।