बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गराएका छन्।
सुनवल नगरपालिका– १२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराएका हुन्।
बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई पिता ज्ञवालीसँग आशीर्वाद लिइरहेका थिए। चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए।
१०८ वर्षीय केशवराज ज्ञवाली अहिले पनि स्वस्थ छन्। खेतीपातीमै जीवन बिताएका बुबालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए।
केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा. बाबुराम छन्।
छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका थिए। आफूले यस्तो दृश्य पहिले नदेखेको, तर आफ्ना बुबाले चौरासी पूजा गरिदिँदा निकै खुसी लागेको छोरा दधिरामले सुनाए।
वि.सं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन्। उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ। उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन्।