कोरोना संक्रमणले गर्दा यतिखेर सबैजसोको घर नै स्कुल भएको छ । केटाकेटीहरु विहान आँखा माड्दै आफ्नो घरमा जे छ(मोबाइल,आइप्याड,ल्यापटप) खोलेर पढ्न बसिहाल्छन् ।
यो अहिले उनीहरुको दैनिकी भएको छ । अहिलेको अवस्थामा आफना नानीबाबुहरु घरमा सुरक्षित किसिमले पढ्नुलाई त राम्रै मानिन्छ तर कलिला बालबालिकाहरु दैनिक दुईचार घण्टा मोबाइल र कम्युटरमा बस्दा चाँडैनै उनीहरुको आँखा विगार्ला कि भन्ने चिन्ता अभिभावकहरुमा बढाएको छ ।
सरकारले अनलाईन कक्षालाई मान्यता दिएकाले धेरै जसो विद्यालयहरुले अनलाईन कक्षालाई अझै सशक्त रुपमा अगाडि बढाइरहेका छन्। अचेल विद्यार्थीहरु पढ्न,होमवर्क गर्न र टिभी हेर्ने समेतगरी दैनिक ८ देखि १० घण्टा स्क्रिन हेरेर बितउने गरेका छन्। यसरी लामो समयसंग स्क्रिनमा हेरिरहँदा आँखामा विभिन्न प्रकारका तत्काल तथा दीर्घकालीन समस्या देखिन सक्दछन्।
विश्व स्वास्थ्य संगठनले पाचँ वर्ष मुनिका बालबालिकालाई एक घण्टा भन्दा कम समय मात्रै डिजिटल उपकरण प्रयोग गर्ने सल्लाह दिएको छ । यसैगरी पाचँ वर्ष माथिका बालबालिकालागि बारम्बार ब्रेक या विश्राम सहित दिनमा २ देखि ३ घण्टा मात्रै प्रयोग गर्नु उचित भनिएको छ।यसो भनिरहँदा अब अनलाईन कक्षा नलिने भन्न खोजेको होइन । यसलाई अझ कसरी व्यवस्थित गर्न सकिन्छ ताकी विद्यार्थीहरुलाई पनि दिक्दारी नहोस्।
यसमा अभिभावकहरुले पनि ध्यान दिनुपर्छ । आफना बालबालिका पढ्ने कक्षा कोठामा हावा आवतजावत हुने खालको र आवश्यक मात्रामा उज्यालो भएको कोठा व्यवस्था गर्नुपर्छ ।
स्कुल जाँदा भन्दा अनलाईन कक्षाबाट हुने पढाइमा बालबालिकाहरु अलि निष्कृय देखिएका छन् ।एउटै कोठामा बसेर पढ्दा, होमवर्क गर्दा उनीहरुले घरबाहिरको वाताबरण नै बिर्सिन थालेका छन् ।
४५ मिनेटको कक्षा ठुला विद्यार्थीको लागि त ठीकै हो तर साना केटाकेटीको लागि त यसलाई पनि ब्रेक गरेर दुईटा बनाएर बीचमा ५ मिनेटको समय विश्रामको लागि छुट्याउँदा राम्रो हुन्छ ।
बढी समय स्क्रिन हेर्दा आखाँ पोल्ने, विझाउने, आँसु बगी हेर्न कठिनाई हुने चिकित्सकहरुले बताएका छन््। अत्यधिक डिजिटल स्क्रिन प्रयोगले चाँडो नै दृष्टि कम्जोर हुँदै आँखा समेत देख्न नसक्ने हुन सक्छ ।यसका लागि समयमै ध्यान दिनुु आवश्यक छ ।