नेपालीहरूकाे महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । समस्त हिन्दुले आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गरेका छन् ।पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।
घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको थियाे। यसैदिनदेखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि योपल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।
गुठी संस्थानले मुलुकका राजगुठीअन्तर्गत दुुई हजार ३५० देवस्थलमा नित्य पूजा गर्न मात्र भनेको छ । शक्तिपीठमा भीडभाड नगरी पुजारीले मात्र पूजा सम्पन्न गर्न भनिएको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । हनुमानढोका दरबारस्थित दशैँघर, फौजी सङ्गठनका कोतघर लगायतमा पनि भीडभाड नगरी घटस्थापना गरिएकाे छ ।