जिल्ला प्रशासन कार्यालय रुपन्देहीले विभिन्न स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि प्रशासनले आज बिहान ६ बजेदेखि २१ गते बेलुका ६ बजेसम्मका लागि निषेधित क्षेत्र तोकेको छ ।निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन पाइने छैन।
स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा नेपाली कांग्रेसले प्रदर्शन चर्काउन थालेपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा आदेश जारी गरेको हो ।राजधानी सार्ने प्रस्तावकाे विराेधमा कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउ लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेकाे थियाे ।
प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ ।
यस्तै मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकलाई पनि निषेधित क्षेत्र तोकिएको छ ।