स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आजदेखि सञ्चालन हुने भएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार असोज ११ गतेदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन हुने भएको हो । मिर्चैया नगरपालिकाको शिक्षा शाखाले सूचना जारी गरी सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागिएको जानकारी दिएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट यसअघि जारी गरिएको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को व्यवस्थाबमोजिम नगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको जनाइएको छ । कक्षा सञ्चालन गर्दा सामाजिक दूरी कायम हुने गरी सिफ्टमा सञ्चालन गरिनुपर्ने, बन्दाबन्दी अवधिको कुनै पनि शुल्क विद्यालयले अभिभावकसँग लिन नपाउने निर्णय गरेको सूचनामा उल्लेख छ ।
विद्यार्थीलाई बसमा ल्याउँदा एकातर्फको जोडी सिटमा एक जना मात्र बस्ने र विद्यालयमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुन लगाएर मास्कसहित मात्रै प्रवेश गराउन निर्देशन गरिएको छ । यस्तै विद्यालयमा एउटा डेस्कमा बढीमा दुई जना मात्र बस्न पाउने तथा विद्यालयमा भौतिक दूरी कडाइका साथ पालना गराउने सूचनामा उल्लेख छ । विद्यार्थीमा कुनै किसिमको लक्षण देखिए तत्कालै जाँच गराउन लगाउने पनि भनिएको छ ।
यस्तै,काभ्रेपलाञ्चोकमा विद्यालय सञ्चालन गरी पठनपाठन शुरु गरिएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण जोखिमको सम्भावनालाई मध्यनजर गर्दै लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय विस्तारै सञ्चालनमा आएका हुन् ।
जिल्लाको पाँचखाल नगरपालिका, तेमाल र रोशी गाउँपालिकालगायतले कक्षा सञ्चालन गरी पठनपाठन शुरु गरेका हुन् । काभ्रेपलाञ्चोकको पाँचखालले सोमबारबाट, तेमालले मङ्गलबार र रोशीले बुधबारबाट सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा ल्याएका हुन् । पाँचखालको नगरकार्यपालिकाले विद्यालयलाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर सोमबारबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको विद्यालय सञ्चालनमा आएको नगरपालिकाले जनाएको छ ।
विद्यालय सञ्चालन गर्न यसअघि नगर शिक्षा समितिले शैक्षिक कार्यविधि तयार गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेपछि विद्यालय व्यवस्थापन समिति, अभिभावकलगायत सरोकारवालासँग छलफल गरी आवश्यक स्वास्थ्य सुरक्षा विधि अपनाएर विद्यालय सञ्चालन गरेको वडा नं ४ लामीडाँडास्थित गोल्मादेवी प्राथमिक विद्यालयका प्रधानाध्यापक विद्यालक्ष्मी देउजाले बताए ।
“हामीले शिक्षण गर्दा भौतिक दूरी कायम गर्नुका साथै आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरी बुधबारबाट कक्षामा पठनपाठन सञ्चालन गरेकामा अझै पनि सबै विद्यार्थीलाई विद्यालयमा नआइसकेकाले सबैलाई ल्याउने प्रयत्न भइरहेको छ”, उनले भने । बन्दाबन्दीका कारण विद्यालय बन्द हुँदा अवरुद्ध रहेको शिक्षण क्रियाकलापलाई असार १४ गतेबाट ‘टोल शिक्षा’को रूपमा टोलटोलमा नै गएर पढाउने र साउन १६ गतेबाट ‘हेलो लर्निङ’ भनेर शिक्षकलाई अनलाइनबाट हप्तामा दुई दिन भए पनि पढाउने व्यवस्था गरेकामा अहिले आएर सोमबारबाट प्रत्यक्षरूपमा कक्षामा नै आएर पढाउन थालेको प्रधानाध्यापक देउजाले बताए ।
विद्यालय सञ्चालनमा आएपछि पहिलोपटक कक्षाकोठामा बसेर पढन् पाउँदा खुशी लागेको सोही वडास्थित जिरोकिलोमा रहेको इन्द्रेणी विद्यामन्दिर कक्षा ७ का कृष्पा न्यौपानेले बताए । “बन्दाबन्दीका बेलामा घरमा बस्दा आफँैले किताबको उदाहरणहरु हेर्दै स्वअध्ययन गरिरहेको थिएँ तर त्यसरी पढ्दा नबुझेका कुराहरुमा धेरै समय अल्झिनुपरेको थियो”, उनले भने।