रुपन्देहीमा आगामी असोज ४ गतेसम्मका लागि केही परिमार्जनसहित चौथो पटक निषेधाज्ञा अवधि थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले गरेको सिफारिस र जिल्ला सुरक्षा समितिको बैठकले गरेको निर्णयका आधारमा असोज ४ गतेसम्म निषेधाज्ञा जारी राखिएको हो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार यस अवधिमा निजी सवारी साधनहरु जोर बिजोरका आधारमा सञ्चालन गर्न सकिने छ भने होटल तथा रेष्टुरेन्टहरुमा टेक अ-वे बाहेकका सेवाहरु बन्द रहने जनाइएको छ ।शैक्षिक संस्था, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टरहरु, मठमन्दिर, मस्जिद, चर्चलगायतका धार्मिक स्थलहरुमा दैनिक नित्य पूजाबाहेकका काम गर्न रोक लगाइएको छ ।
यद्यपी अति आवश्यक उपभोग्य वस्तु र सेवा, औषधिजन्य वस्तु र सेवा बाहेकका अन्य व्यापार व्यवसायलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्ण रुपले अपनाइ बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म मात्रै सञ्चालन गर्न आदेश जारी गरिएको छ ।