नेपालमा थप १४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमले १० हजार ७०१ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।याेसँगै कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ४६३ महिला र ९९१ पुरुष गरि १४५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा थप ६९६ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १९४ महिला र ४२६ पुरुषगरि ६२०, ललितपुरमा १७ महिला र २१ पुरुष गरि ३८ र भक्तपुरमा १७ महिला र २१ पुरुष ३८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भई ९७२ जना डिस्चार्ज भएका छन् ।यो सँगै हालसम्म कोरोना संक्रमणबाट डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।