थारु समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारु महिला घरमै बसेर जितिया मनाइरहेका छन् ।
सामूहिकरुपमा झाम्टा नाँच नाच्दै गाउँदै जितिया मनाउने उनीहरु यसवर्ष घरमै बसेका छन् । यस वर्ष चितवनका थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व मनाउने निर्णय गरेपछि महिला घरमै जितिया मनाएका हुन् । थारुहरुको बाक्लो बसोबास रहेको चितवनको पूर्वी, पश्चिम र माडी क्षेत्रमा जितिया मनाइन्छ । थारु कल्याणकारिणीसभा (थाकस) चितवनले जितिया मानाउन कार्यविधिसमेत बनाएको छ ।
कोरोनाको सङ्क्रमणबाट समुदायलाई जोगाउँदै चाडपर्वको रक्षा गर्न घरमै बसेर चाडपर्व मनाउने निर्णय गरिएको थारु कल्याणकारिणीसभा जिल्ला कार्यसमिति चितवन सभापति ललितकुमार चौधरीले बताए। आजको दिन थारु समुदायका महिला बिहानैदेखि निराहर ब्रत बस्छन् ।
बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रतबसी महिला तथा युवती यो पर्व मनाइरहेका छन् । यसपटक बिहान दर खाएपछि महिला एक ठाउँमा गीत गाउँदै रमाइलो गर्न पाएनन् । अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै ब्रत बस्ने गर्छन् ।
यो पर्वमा चेलीबेटीलाई निम्ता गरी बोलाउने र लिन जाने (लेलहारी) गर्ने चलन छ । यस्तै जितियामा कोसेली (पहुरा) पुर्याउने चलन पनि छ । तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवा खैरहनी नगरपालिका–१० की फूलमती चौधरी बताउँछन् । उनले भनिन्, “जितिया हामी महिलाको मुख्य चाड हो, आज निराहार ब्रत बसी साँझ जीतबाहनको कथा श्रवण गरेपछि मात्रै फराहर गर्छौँ ।” चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया मनाइन्छ । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ ।
सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ । आज अष्टमीको दिन भएकोले महिला बिहानैदेखि ‘उपास’ ब्रतबसि घरमै झम्टा नाँच नाचेर मनाइरहेका छन् । थारु महिला अगुवा खैरहनी–९, बैरहनीकी चन्द्रकुमारी चौधरीले भनिन्, “कोरोनाका कारण यसवर्ष घरमै जितिया मनाइ रहेका छौँ, गाउँका सबै महिला दिदीबहिनीलाई घरमै झाम्टा नाच नाचेर मनाउन आग्रह गरेका छौँ ।” महिला नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभर नै झमटा नृत्यमा झुमेर रम्ने दिन हो जितिया । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् ।