अर्थतन्त्रलाई भरथेग गर्दै आएका नेपाली कामदारले कोरोना महामारीका कारण कम्पनीबाट रोजगार गुमाएपछि स्वदेश फर्कनसमेत नपाएको भन्दै सरकारबिरुद्ध आक्रोश पोखेका छन्।
साउदी अरेबियाको रियादस्थित सेमास्को कम्पनीको आवास गृह परिसरमा आइतबार नेपाली श्रमिकले नेपाल सरकारको विरोधमा नाराबाजी गरेका हुन्। उनीहरुले विदेशबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘देश छोड्’ को नारा लगाउँदै गाली गरेका हुन्।
साउदीस्थित नेपाली दूतावासका कारण तत्काल श्रमिकलाई पठाउन नसकिएको सम्बन्धित कम्पनीले जानकारी गराएपछि नेपाली कामदार आन्दोलित भएका हुन्।
स्वदेश फर्कने आशमा महिनौंदेखि पर्खेका कामदारहरुलाई मंगलबार फर्काउने तयारी गरिएको भए पनि अन्तिम समयमा सूचना टाँसेर रद्ध गरिएको थियो। सात महिनादेखि नेपाली श्रमिकहरु बेरोजगार भएका छन्। साउदीमा अझै १२ हजारभन्दा बढी श्रमिक स्वदेश फर्किनका लागि विमानको प्रतिक्षामा छन्।