कोरोना भाइरस नियन्त्रणमा केन्द्र र प्रदेश सरकारले गरेको चरम लापरबाहीका कारण प्रदेश नं २ को अबस्था दिनप्रतिदिन भयाबह बन्दै गएको छ।
कोरोनाकै कारण प्रदेश २ का जिल्लामा ७६ जनाको निधन भइसकेको छ। प्रदेशको सबैभन्दा बढी प्रभाबित जिल्ला पर्सा हो, जहाँ २८ जनाको मृत्यु भइसकेको छ। यसैगरी महोत्तरीमा ११ जना, धनुषामा १० जना, बारामा ६ जना, सप्तरीमा ५ जना, रौतहटमा ३ जना र सर्लाहीमा १ जनाको मृत्यु भइसकेको छ।
समुदायस्तरमा कोरोना संक्रमण फैलिसक्दा पनि केन्द्र र प्रदेश सरकारले कन्ट्याक ट्रेसिङ समेत गर्न नसकेको भन्दै प्रदेश २ का नेपाली कांग्रेसका नेताहरुले चिन्ता व्यक्त गर्दै सरकारको आलोचना गरेका छन्। कोरोनाको असर र अपनाउनु पर्ने साबधानीका सन्दर्भमा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको अगुवाईमा बुधबार सम्पन्न जुम कन्फरेन्सका सहभागीहरुले जनस्वास्थ्यसँग खेलवाड गर्नेलाई सत्तामा बस्ने नैतिक अधिकारसमेत नभएको बताए।
कांग्रेस उपसभापति निधिले कोरोना महामारी नियन्त्रणमा केन्द्र र प्रदेश सरकारले सिन्को नभाँचेको आरोप लगाए। स्वास्थ्य सामग्री खरिदका नाममा भएका आर्थिक अनियमितताले सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भएको उनले उल्लेख गरे। जनताको जीवन खतरामा परेका बेलासमेत भ्रष्टाचार गरेर सरकारले महापाप गरेको उपसभापति निधिले बताए। उनले पार्टीका तर्फबाट कोरोना महामारीबिरुद्ध वडा वडामा सचेतना अभियान संचालन गर्नका लागि प्रदेश नं २ का आठ वटै जिल्ला सभापतिहरुसँग आग्रह गरे।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरिले नक्कली राष्टवादका नाममा जनतालाई भुलाएर नेकपा नेतृत्वको सरकारले स्वास्थ्य सामग्री खरिदका नाममा ठूलो आर्थिक घोटाला गरेको बताए। सरकारको गैरजिम्मेवारी क्रियाकलापले कहिं नभएको जात्रा हाँडी गाउँमा भन्ने नेपाली उखान चरितार्थ भएको गिरिले उल्लेख गरे।
कन्फरेन्समा कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, पद्मनारायण चौधरी, रामकृष्ण यादव, महेन्द्र यादब, जितेन्द्र नारायण देव, किरण यादब, शम्भुलाल श्रेष्ठलगायतले कोरोना नियन्त्रणमा अक्षम भएपछि केन्द्र सरकारले हात उठाएर स्थानीय तहको जिम्मा लगाएको बताएका थिए।
नेपाली कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादब, पर्साका सभापति अजय द्धिवेदी, सर्लाही सभापति नागेन्द्र कुमार यादब, धनुषा सभापति महेशशंकर गिरि, रौतहट सभापति कृष्ण यादब, महोत्तरी सभापति महेन्द्र कुमार राय, सप्तरी सभापति दिनेश यादब, सांसद तेजुलाल चौधरीलगायतले कोरोना नियन्त्रणमा सरकार पूर्णत असफल भएको बताएका थिए।