भरतपुर महानगरपालिका क्षेत्रभित्र तीनदिनमा २३ जना कोराना सङ्क्रमित पुष्टि भएपछि महानगरपालिका क्षेत्र एकहप्ता लकडाउन गरिने भएको छ ।
महानगर प्रमुख रेनु दाहालको अध्यक्षतामा आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले कोरोनाको सङ्क्रमण, नियन्त्रण, उपचार, व्यवस्थापनका लागि आज राति १२ बजेदेखि एक हप्ताका लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरभित्र कोरोना तीव्र गतिमा बढेसँगै जोखिमलाई मध्यनजर गर्दै लकडाउनको आह्वान गरिएको उनले दिए ।
अति आवश्यक क्षेत्रलाई विशेष निगरानीसहित निश्चित समय सञ्चालन गर्न दिइने गरी लकडाउन गरिनेछ”, उनले भने, “जो जहाँ छ त्यही रहने गरी लकडाउन गरिँदैछ ।” महामारीबाट बच्नका लागि लकडाउन बाध्यता भएको जनाउँदै उनले जति कष्ट भए पनि हामी सबैले स्वीकार गर्नु परेको बताए।
राजमार्गमा अतिआवश्यक सवारी मात्र चल्न दिने, दूध, तरकारी, मासुलगायतका अतिआवश्यक वस्तुलाई निश्चित समयमा मात्र खोल्न दिने र भित्री आवागमन पूर्णरुपमा निस्तेज हुने गरी लकडाउन आह्वान गरिँदैछ । महानगरका वडामार्फत टोल सुधार समितिलाई सबैलाई सतर्क भई घरमा नै रहन सन्देश प्रवाह गरिँदै छ ।
महानगरको विपद् व्यवस्थापन इकाइ, दमकल, नगरप्रहरी, महानगरका सीमित कर्मचारी परिचालन गरेर रोगको नियन्त्रण, उपचार र व्यवस्थापनको काम गरिने महानगरप्रमुख दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए ।
महानगरभित्रका अस्पताल, आइसोलेशन र क्वारेन्टिनलाई प्रभावकारी बनाइनेछ । महानगर क्षेत्रमा हालसम्म ९३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । ती मध्ये ७० पुरुष , २३ महिला रहेका छन् । ती मध्ये एकजनाको मृत्यु भएको छ ।