नेपालमा पछिल्लाे समय कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ ।
पछिल्लाे समय विराटनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका– ३ का ५७ वर्षका व्यक्तिकाे कोशी अस्पताल उपचार केन्द्रमा पुरुषको मृत्यु भएको हो । मृतक पुरुष नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्राविधिक हुन् ।
यस्तै, ह्याम्स अस्पताल धुम्बाराहीमा उपचाररत् धादिङका ३२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । जनकपुरका एक ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ भने धनुषाकै ३१ वर्षीया एक महिलाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी सप्तरी घर भएका र राजविराज बस्दै आएका ७२ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
त्यस्तै मोरङका ५५ वर्षीय पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । कपिलबस्तु तौलिहवाका ४२ वर्षीय पुरुषको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको छ । बारा कलैयाका ७५ वर्षीय पुरुषको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं टेकु निवासी ७८ वर्षीया एक महिलाको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वरजानकारी दिए ।योसंगै नेपालमा कोरानाका कारण मृत्युहुनेको संख्या ९२ पुगेको छ ।
यसैबीच,नेपालमा थप चार सय ८४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप चार सय ८४ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको हो । संक्रमितहरुमा काठमाडौं उपत्यकाकै १३८ जना रहेका छन् । नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार चार सय ३२ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
बुधबार थप ६४ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेको सङ्ख्या १६ हजार सात सय २८ पुगेको छ । अहिले देशका विभिन्न ठाउँको आइसोलेशनमा सात हजार ६ सय १३ जना छन् । यस्तै १४ हजार आठ सय ४६ जना क्वरेन्टाइनमा रहेका छन् ।