चीनले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोरोना महामारीका समयमा चीनको तिब्बत, नेलम काउन्टीले स्थानीय मितेरी पुलमा आज सो सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि दुई हजार आठ सय पिपिइ थानसहित पाँच हजार मेडिकल ह्याट तथा सुज कभर र दुई हजार थान पञ्जा सहयोग गरेको हो । त्यस्तै आइसोलेसन मास्क दुई हजार थान तथा एन नाइन्टीफाइफ मास्क र मेडिकल मास्क पनि पाँच हजार थान दिइएको छ ।
चिनियाँ सरकारले सिन्धुपाल्चोक जिल्लाकै प्रयोगका लागि भिटिएम दुई हजार थान र पिसिआर रिएजेन्ट दुई हजार थानसमेत सहयोगस्वरुप उपलब्ध गराएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
जिल्लामा कोरोना महामारीले उच्च रुप लिँदै गरेका अवस्थामा नेलम काउन्टीले गरेको यो सहयोग अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै प्रजिअ ढकालले यो अहिलेसम्म नेलम काउन्टीले गरेकोमध्येकै ठूलो सहयोग भएको उल्लेख गरे ।
नेलम काउन्टीका समकक्षीसँग आफुले भाइचाराको सम्बन्ध विस्तार गरेका कारण यती धेरै सँख्यामा प्राप्त पिपिइ सेट तथा स्वास संकलन गर्ने सामग्री र पिसीआर रिएजेन्ट समेत सहयोग पाँउदा जिल्लालाई ठूलो राहत मिलेको ढकालले बताए ।
यसअघि पनि विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको नेलम काउन्टीले यसपछि पनि टेन्ट र खाद्यान्न सहयोग गर्ने आश्वासन दिएको उनले बताए । प्रजिअ ढकालका अनुसार तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले तिब्बत, नेलम भन्सार कार्यालयका उपनिर्देशक साङ बुमार्फत सो सामग्री बुझाएका हुन् । मितेरी पुलमा सामग्री लिएपछि भन्सार प्रक्रिया पूरा गर्न र निर्मलीकरण गर्न एकदुई दिन लाग्नेछ ।