बुटवलको कोरोना अस्पतालमा उपचाररत कपिलवस्तुका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवल धागो कारखानास्थित कोरोना बिशेष अस्पतालमा उपचाररत कपिलवस्तु नगरपालिका वडा नं. २ का ४२ वर्षीय कृष्णकुमार गुप्ता र कृष्णनगर नगरपालिका वडा नं. १२ भगवानपुरका २५ वर्षीय प्रदीप तेलीको मृत्यु भएको कपिलवस्तु अस्पतालका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए।
गुप्तालाई कोरोना भाइरसको लक्षण देखिएपछि साउन २५ गते अस्पताल भर्ना गरिएको थियो। भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा मंगलबार राती उनको मृत्यु भएको थापाले बताए।
अर्का २५ वर्षीय युवालाई सोमबार प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि लगिएको थियो। कोरोनाको लक्षण देखिनासाथ कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचाररत उनको मंगलबार राति मृत्यु भएको थापाले बताए। तीमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भइसकेको थियो भने अर्काको रिपोर्ट आउन बाँकी छ ।
कपिलवस्तुमा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो। जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित छन्।
यता,ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी २८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।
यसैगरी,ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी वृद्धामा काेराेना पाेजेटिभ देखिएकाे छ ।काठमाडौं टेकुकी ७८ वर्षीया वृद्धाकाे मंगलबार राति मृत्यु भएकाे अस्पतालले जनाएकाे छ।