जिल्ला प्रहरी कार्यालय सिन्धुलीअन्तर्गतका कार्यालयमा कार्यरत पाँच प्रहरी निलम्बनमा परेका छन् ।
सेवाग्राहीसंँग रकम लिँंदै गरेको अभियोगमा उनीहरुलाई नियन्त्रणमा लिई निलम्बन गरिएको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंँग रकम लिँंदै गरेका अवस्थामा उनीहरुलाई यही साउन २१ गते नियन्त्रणमा लिएको थियो ।
प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत रोशन थापाका अनुसार जिल्ला प्रहरी कार्यालयका पाँच र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत एक गरी ६ प्रहरी कर्मचारी निलम्बित छन् ।
उनीहरुलाई सवारी चालकसंँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई प्रदेश प्रहरी कार्यालय हेटाँैंडामा झिकाइएकामा थप छानबिन गर्न हाललाई मङ्गलबार निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए ।
उहाँका अनुसार निलम्बन पर्नेमा दुई प्रहरी हवल्दार र चार प्रहरी जवान छन् । निलम्बनमा पर्नेमा जिल्ला प्रहरी कार्यालय सिन्धुली र सोअन्तर्गतका कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की तथा प्रहरी जवान कुमारबाबु सिंह, धीरेन्द्र साह र रामकुमार थापा छन् ।
यस्तै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको इलाका प्रहरी कार्यालय मङ्गलटारमा कार्यरत प्रहरी जवान नवीनबहादुर थापालाई निलम्बन गरिएको सूचना अधिकारी थापाले जानकारी दिए ।
निलम्बनमा पर्ने प्रहरी कर्मचारी जिल्ला प्रहरी कार्यालय सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमान, खुर्कोट, मङ्गलटार, प्रहरीचौकी ढुङ्ग्रेबास र अस्थायी ट्राफिक प्रहरीचौकी भिमानमा कार्यरत थिए ।