कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले मङ्गलबारबाट राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।
बैठकले रातको समयमा सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार राजनीतिक दल सङ्घसंस्थालगायत सबैले २५ जनाभन्दा बढी मानिस भेला भएर गरिने बैठक, आमसभा, साधारणसभालगायतका कार्यमा रोक लगाइएको छ ।
चियापसलमा बसेर चिया खाने प्रवृत्तिलाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसललाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने ‘टेक अवे’ सेवा सञ्चालन गर्ने, राति ९ बजेपछि बिहान ५ बजेसम्म सेवाग्राहीलाई दिने सेवा बन्द गर्ने निर्णय भएको छ । अन्य जिल्ला तथा छिमेकी मुलुकबाट अनुमतिबिना जिल्लामा प्रवेश गर्न सक्ने मानिसका कारण कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेको देखिएको बैठकको निष्कर्ष छ ।
त्यसरी प्रवेश गर्न नदिन जिल्ला प्रवेश गर्ने नाकाहरुमा हुने गरेको जाँचलाई थप प्रभावकारी बनाई निरन्तरता दिने र विदेशबाट आउने नेपालीलाई होल्डिङ सेन्टरमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी क्वारेन्टिनमा पुर्याउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।