सदरमुकामस्थित कपिलबस्तु अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरिएको छ।
अस्पतालका विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि उक्त निर्णय गरिएको अस्पतालका मे.सु. किशोर बन्जाडेले जानकारी दिए। अस्पतालको आन्तरिक बैठक अनुसार अत्यावश्यक इमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा बन्द भएका छन्।
साउन २५ गते अस्पतालका फाँट प्रमुख, चिकित्सकहरु र सरोकारवालाको अन्तरिक बैठक अनुसार सेवाग्राहीलाई संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै स्वाब संकलन गरी रिर्पोट नआएसम्म इमरजेन्सी सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको हो।
कपिलबस्तु अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मी अहिलेसम्म संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ। अस्पतालमा कार्यरत एक स्टाफ २ महिना अघि संक्रमित भएकी थिइन्। उनी कोरोना जितेर काममा पनि फर्किसकेकी छन्। स्वाब संकलन गर्दै आएका अस्पतालमा कार्यरत ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन्। उनी अहिले आइसोलेसनमा छन्।
अस्पतालको एक नर्सिङ कर्मचारी, एक ल्याब फाटमा कार्यरत कर्मचारी, ऐक्सरे र ओपीडीमा काम गर्ने कर्मचारी आइतबार संक्रमित पुष्टि भएका छन्।