जिल्लामा समुदाय स्तरमा कोरोना भाइरसको संक्रमण फैलिइएको छ । आज समुदायस्तरका थप १७ जना कोरोना संक्रमित पुष्टी भएका छन् ।
तौलिहवाको बालमंन्दिरमा संकलन गरिएको स्बाब नमूना अन्र्तगत तौलिहवा बजारको पान पसल, जुत्ता पसल, किराना पसल, कपडा पसल, गिफ्ट हाउस, सुरक्षाकर्मी, मेडिकल, ल्याब संचालकहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज पुष्टी भएका संक्रमितमध्ये १२ जना ब्यापारी, ४ स्वास्थयकर्मी, र १ सुरक्षाकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ८ सय ५७ जना पुगेको कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
साउन २१ गते कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, (बालमन्दिर) देखि सन्कलन गरिएका २ सय २६ नमुना मध्ये १ सय १७ नेगेटिभ ११ पोजेटिभ र ९८ को नमुना आउन बाँकी रहेको थापाले बताए । त्यस्तै साउन २३ गते कपिलवस्तु अस्पताल देखि सन्कलन गरिएका ६ नमुना मध्ये ५ पोजेटिभ आएको छ ।
कृष्णनगर नगरपालिकामा थप १ जना संक्रमित भएका हुन् । यस अघि तौलिहवा बजारका २० जना र मायादेबी गाउँपालिकाका एक जना समुदायस्तरका व्यक्ति संक्रमित भएका थिए । द्रुत परीक्षणका क्रममा अहिले सम्म ५३ जना संक्रमित भेटिएका छन् ।
स्वास्थ्यकर्मी संक्रमित
जिल्लाको सदरमुकाम तौलिहवाको कपिलबस्तु अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मी अहिले सम्म संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अस्पतालमा कार्यरत एक स्टाफ २ महिना अघि संक्रमित भएकी थिइन् ।
उनी कोरोना जितेर काममा पनि फर्कि सकेकी छन् । स्वाब संकलन गर्दै आएका अस्पतालमा कार्यरत ल्याब असिस्टेण्ट पनि संक्रमित भएका छन् । उनि अहिले आइसोलेसनमा रहेका छन् ।
आज आइतबार पुष्टि भएका अस्पतालको एक नर्सिङ कर्मचारी, एक ल्याब फाटमा कार्यरत कर्मचारी, ऐक्सरे र ओपीडीमा काम गर्ने कर्मचारी संक्रमित रहेका छन् ।
होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय
कोरोना संक्रमित समुदायस्तरमा फैलिइदै गएपछि कपिलबस्तु नगरपालिका भित्र सञ्चालित होटल तथा रेष्टुरेण्ट बन्द गर्ने होटल तथा रेष्टुरेण्ट .व्यवसायी संघका जिल्ला अध्यक्ष गोपाल खत्रीले बताए ।
आइतबार होटल तथा रेस्टुरेन्ट ब्यवसायी संघ नगर समितिको बैठकले सो निर्णय गरेको हो । अहिले अनिश्चितकालका लागि बन्द गरिएको र स्थिति सामान्य बनेपछि बल्ल खोलिने खत्रीले बताए ।