२४ घन्टामा काेराेना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोरङ, पर्सा र काठमाडौंका एक–एक जना रहेका छन् ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका-६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलालाई साउन १८ गते कोभिड-१९ पुष्टि भएको थियो ।
यस्तै कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका-३ छपकैया बस्ने ७४ वर्षीय पुरुष र मोरङ विराटनगर-९ बस्ने ५८ वर्षीय पुरुषको मृत्यु भएकाे छ ।
यसैबीच नेपालमा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४९९ जना डिष्चार्ज भएका छन् ।
देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ३७८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित मध्ये ५६ जना काठमाडाैं उपत्यकाका रहेका छन्। हाल सक्रिय संक्रमित ६२०६ जना छन् ।