स्वास्थ्य सरोकारवाला र विज्ञहरुले कोरोना नियन्त्रणका लागि पुन लकडाउन गर्न सुझाव दिएका छन्।
कोरोना भाइरस संक्रमित बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरकारी निवास बालुवाटारमा गरेको छलफलमा बिज्ञहरुले लकडाउन गर्न सुझाव दिएका हुन्।
केही बिज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न सुझाएका थिए भने केहीले आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न सुझाव दिएका थिए।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोनाको समस्या समाधानका लागि कतिपयले कफर््यु लगाउनुपर्ने, केहीले कडा लकडाउन र केहीले बिशेष क्षेत्रमा मात्र लकडाउन गर्न सुझाव दिएको बताए। सवैको सुझाव सुनेपछि प्रधानमन्त्रीले सीसीएमसी, स्वास्थ्य मन्त्रालयसँग समेत छलफल गरेर लकडाउनको मोडालिटी तयार गर्ने बताएको थापाले जानकारी दिए।
छलफलपछि जनस्वास्थ्यविद् डा. समिरमणि दीक्षितले देशभर लकडाउन गर्नुको साटो संक्रमण बढी भएका स्थानमा लकडाउन गर्नुपर्ने र अन्य स्थानमा व्यवस्थित बनाउँदै लैजानुपर्ने सुझाव दिएको बताए।
अर्का जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले विज्ञहरुले १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाएको बताए।
केही विज्ञले भने कोरोना अहिले नै नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको र २–३ वर्षसम्म लम्बिन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड अपनाएर अवस्था सहजतातिर लैजानु पर्ने धारणा राखेका थिए।