अविरल वर्षासँगै खोलामा आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको सडक आठ दिनको प्रयासपछि सञ्चालनमा आएको छ ।
चितवनको नारायणगढ–सिमलढाप सडकअन्तर्गत इच्छाकामना–७ स्थित हरिपुरखोलाको मोटरेबल पुल बगाएपछि साउन १२ गते रातिदेखि सडक अवरुद्ध बनेको थियो ।
सडक अवरुद्ध भएपछि उक्त खोलामा डाइभर्सन निर्माण गरी सोमबारदेखि सडक सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । तत्काल काम शुरु गरे पनि आवश्यक सामान बेलैमा उपलब्ध नहँुदा र बाढी निरन्तर आइरहँदा सडक सञ्चालन गर्न ढिलाइ भएको उनको भनाइ छ ।
नागरिकको दुःखलाई आत्मसाथ गर्दै तत्कालका लागि अस्थायी बाटो निर्माण गरिएको र छिट्टै उक्त स्थानमा नयाँ पक्की मोटरेबल पुल निर्माण गर्ने पनि अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरिन् ।
बाढीले पुल बगाउँदा इच्छाकामना–७ स्थित सिमलढाप, गर्दास, खेतबारी, स्याङ्दीलगायतका स्थानका करिब एक हजार ५०० घरधुरीका नागरिकलाई सदरमुकाम भरतपुर र गाउँपालिकाको कार्यालय कुरिनटार आवतजावतका लागि समस्या भएको थियो ।
नवनिर्मित उक्त बाटोबाट छ चक्केसम्मका गाडी वारपार गर्न सकिने गरी निर्माण गरिएको छ। अस्थायी बाटो निर्माण भएसँगै इच्छाकामना–७ का नागरिकलाई आवतजावतमा सहज भएको छ । उक्त सडक भएर दैनिक ३०० भन्दा बढी मोटरसाइकल र १०० भन्दा बढी साना–ठूला सवारी साधन चल्ने गर्छन् ।