नेपाली सेनाको सैनिक कल्याणकारी कोषले कोषको रकम ३८ अर्ब ५७ करोड ६१ लाखबाट बढेर ४५ अर्ब ८६ करोड ५० लाख पुगेको जनाएको छ ।
कोषद्वारा शुक्रबार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा कोषका निर्देशक सागरबहादुर केसीले कोषको रकम १८.९० प्रतिशतले वृद्धि भएको जानकारी दिए । मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको रु ४५ अर्ब ८६ करोड नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ ।
केही वर्षअघिसम्म कोषको रु ८५ करोड निक्षेप जोखिममा रहेकामा अहिले घटेर रु पाँच करोड दुई लाख ६६ हजारमा झरेको छ । कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अब रु सात करोड ४३ लाख ९४ हजार रहेको निर्देशक केसीले जानकारी दिए ।
उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्याैट भएको थियो । बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक केसीले जानकारी दिए ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा विभिन्न मुलुकमा खटिने सैनिकको पारिश्रमिकबाट कटौती गरेर २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो । त्यसवेला रु.१ करोड २४ लाख १ हजारबाट कोष शुरु भएको थियो ।
अहिले राष्ट्रसंघीय मिसनमा खटिने सैनिकबाट प्राप्त हुने रकमसँगै सेनाले कोष मार्फत गरेको लगानीबाट समेत आम्दानी गर्दै आएको छ । कोषको ठूलो रकम सेनाले निक्षेपका रुपमा बैंकमा राखेको छ । त्यसैगरी सेनाले कोषको रकम विद्यालय, कलेज, अस्पताल, मेडिकल कलेज, पेट्रोलपम्प, हाउजिङ लगायतमा लगानी गर्दै आएको छ ।