नाकाबाट नेपाल छिर्न नदिएको भन्दै सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ ।
नेपाल प्रवेश गर्न लागेका दुई भारतीय महिलालाई रोक्ने क्रममा सरमझुवास्थित बोर्डर आउट पोस्ट(बीओपी) को टोलीमाथि भारतीय नागरिकको समूहले आक्रमण गरेको हो ।
कोरोना भाइरसको संक्रमण बढिरहेका बेला भारतीय महिलालाई नआउन अनुरोध गर्दा प्रहरी टोलीमाथि हँसियाले आक्रमण गरेको सशस्त्र प्रहरी ११ नम्बर गण रौतहटका प्रमुख एसपी रविनराज कर्णजितले बताए । पूर्वी चम्पारण, कबैया ६ अर्सलवाकी सीमादेवी कुसवाहाले हँसियाले सशस्त्र प्रहरीमाथि प्रहार गरेकी हुन् । आत्मरक्षाका लागि सशस्त्रले एक राउण्ड हवाई फायर गरेको एसपी कर्णजितले जनाए ।
आक्रमणबाट सशस्त्र प्रहरीका एक जना जवानको हाट काटेको उनले जानकारी दिए । भारतीयहरुको समूहले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि हातपात गर्दै हतियार खोस्ने प्रयास गरेका थिए ।