कोरोना संक्रमणपछि शुरु गरिएको अनलाईन कक्षा साउन १ गतेदेखि बन्द गर्ने निजी विद्यालयहरुले निर्णय गरेका छन्।
निजी विद्यालयहरूको छाता संगठन प्याब्सन र नेसनल प्याब्सनले आर्थिक तथा नीतिगत कारण देखाउँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेका हुन्।
प्याब्सन र नेसनल प्याब्सनले बुधबार संयुक्त रूपमा विज्ञप्ति निकालेर सरकारले सहयोग गर्ने प्रतिवद्धता गरेको एक साता बितिसक्दा पनि ठोस सहयोग नगर्दा अनलाइन कक्षा बन्द गर्ने निर्णयमा पुग्नुपरेको जनाएका छन्।
नेसनल प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सरकार नै नीतिगत रूपमा प्रष्ट नहुँदा आफूहरूले अनलाइन कक्षालाई निरन्तरता दिन नसकेको बताए। नयाँ शैक्षिक सत्र सुरू भएको हो वा होइन भन्नेबारे सरकारले प्रष्ट पार्न नसकेको भन्दै उनले निजी शिक्षण संस्थाका लागि सरकारले कुनै राहत नदिएको बताए।
सरकारले राहत नदिने र अभिभावकबाट शुल्क पनि उठाउन नदिएपछि खर्च धान्न नसक्ने अबस्थामा आफूहरु पुगेको उनको भनाई थियो। अभिभाबकबाट शुल्क लिन नपाएपछि कसरी तलब दिने भन्ने प्रश्न गर्दै त्यसैले शिक्षकहरुलाई बेतलबी बिदामा बस्न आफूहरुले भनेको सापकोटाले उल्लेख गरे। भोलिदेखि अनलाइन कक्षा बन्द हुँदा ३० लाख विद्यार्थी प्रभावित हुनेछन्।
यसबारे निजी विद्यालय सञ्चालकहरूको छाता संस्थाले १४ असारमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको भए पनि कुनै सुनुवाई नभएको उनीहरुको भनाई छ।