विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ ।
काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षाद्मै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गरे । खाल्डा खुल्डी बढ्दै गएर दुर्घटना हुने अवस्था आएको उनले बताए । सडक निर्माणका बेला गुणस्तरीय काम नहुँदा यस्तो अवस्था आएको हो ।
चरणबद्ध रुपमा कालोपत्र गरेर पनि चावहिल–बौद्ध–जोरपाटी सडकको पुरै भाग कालोपत्र भइसकेको छैन । जोरपाटी क्षेत्रमा वैशाख पहिलो साता बन्दाबन्दीका बेला शुरु भएको कालोपत्रको काम एकाएक रोकिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको सडक पर्यटक आउने बेला सधैँ जीर्ण देखिने गरेकाले नराम्रो सन्देश जाने गरेपनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।
गत वर्ष वर्षाद्का बेला धान रोप्ने गराजस्तो देखिएको यहाँको सडक हिउँदमा कालोपत्र गरिए पनि यस वर्ष फेरि खाल्डाखुल्डी हुन थालेको छ । यस वर्ष बन्दाबन्दीका कारण पर्यटक आउने सम्भावना छैन । अर्को वर्ष पर्यटक आउँदा फेरि उस्तै देखिने चिन्ता बढेको पर्यटन व्यवसायी निमा लामाले बताए । काठमाडौँ महानगरपालिका वडा नं. ६ को कार्यालय बौद्ध पीपलबोट अघिको सडकमा समेत खाल्डा खुल्डी भइसकेको छ । टुसाल चोकको मूल सडक पनि जीर्ण छ ।
टुसाल चोकमा भने अझै सम्म पनि कालो पत्र भएको छैन । टुसाल चोकबाट महाँकाल तिर निस्कने अमिताभ बुद्ध मार्गको अवस्था त झनै दयनीय बन्न पुगेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बताए । बौद्ध क्षेत्र आउने धेरै पर्यटकले पैदल यात्रा समेत गर्ने यो सडकमा जताततै खाल्डा खुल्डी छ । वर्षाद्मा ती सडकमा आकाशबाट परेको पानी जम्दा पोखरीजस्तै हुन्छ ।
हायात रिजेन्सी होटलबाट आउने वर्षाद्को पानी समेत यहीँ निस्कने गरेकाले यो सडक जीर्ण भएको स्थानीय व्यवसायी बताउँछन् । यो सडक निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ठेक्का गरेको सुनिए पनि काम भने नभएको समितिले जनाएको छ । महानगरपालिका वडा नं. ६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले मूल सडकका निर्माण व्यवसायी युनाइटेड बिल्डर्सलाई एक महिना अघि नै खाल्डा खुल्डी भएको स्थानमा ग्राभेल हाल्न माग गरे पनि नटेरेको बताए ।रासस