रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अन्तरजातीय बिबाहको विवादका क्रममा दलित युवक हत्याबारे छानविन गर्न गठित संसदीय छानविन विशेष समितिले सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको छ।
समितिका संयोजक देवेन्द्र पौडेलले मंगलबार सिंहदरबारस्थित संसद सचिवालयमा पुगी सभामुख सापकोटालाई प्रतिवेदन बुझाएका हुन्।
सांसदहरुले उक्त घटनाबारे संसदीय छानबिन हुनुपर्ने माग गरेपछि गत जेठ २६ गते बसेको प्रतिनिधिसभा बैठकले सांसद पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो। एक महिनाको समय पाएको बिशेष समितिले घटनास्थलमा पुगी दुईपक्षसंग सोधपुछ समेत गरेको थियो। समिति संयोजक पौडेलले छानविन, अध्ययन र अवलोकन गरी प्रतिवेदन तयार रहेको जानकारी दिए।
जेठ ३१ गते काठमाडौंमा बैठक बसि समिति घटना घटेको स्थानका अवलोकन गरी सवै पक्षको धारणा बुझ्न छलफल समेत गरिएको उनले जानकारी दिए।
प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदनको अध्ययन गरी यसलाई अघि बढाइने जानकारी दिए। संसद बैठक नचलेको अहिलेको अवस्थामा यसलाई कार्यान्वयनमा लैजान आफू प्रतिवद्ध रहेको उनले बताए।
प्रतिवेदन सार्वजनिक नगरिए पनि पश्चिम रुकुमको चौरजहारी हत्याकाण्ड जातीय भेदभाव र छुवाछुतका कारण भएको निष्कर्ष निकालिएको एक सदस्यले जानकारी दिए। प्रेमिकासँग विहे गर्न भनी रुकुमको चौरजहारी नगरपालिका सोती आएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु केटी पक्षका आफन्तको आक्रमणबाट मारिएका थिए। उक्त घटनामा ६ जनाको मृत्यु भएको थियो।