अबिरल वर्षापछि आएकाे पहिराेमा परी पाेखरा र लमजङमा गरी ९ जनाकाे मृत्यु भएकाे छ ।
पोखरा महानगरपालिका–१८ सराङकोटस्थित गोठादीमा टङ्कबहादुर थापाको घर पहिरोले पुरिँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
पहिरोमा परी घरधनी ५० वर्षीय थापासहित उनका श्रीमती ४५ वर्षीया सोममाया थापा, ११ वर्षीया इशिका थापा, छ वर्षीय सुवान थापा तथा तनहुँ दमौली घर भएका आठ वर्षीय शीतल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
घटनामा थापाका परिवारका सदस्य, आफन्त तथा छिमेकी गरी आठ जना घाइते भएका छन् । घाइते २२ वर्षीया पिङ्की थापा , १८ वर्षीया आशा थापा र पिङ्कीका छोरी पाँच वर्षीया पिरिसा थापाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
त्यसैगरी तनहुँ दमौलीका टङ्कबहादुर थापाका साली २८ वर्षीया सरस्वती श्रेष्ठ उनका छोरा वर्ष १० का सन्देश श्रेष्ठ तथा छिमेकी पोखरा–१८ बस्ने १९ वर्षीय अनिस तामाङ, वर्ष १९ का रशि थापामगर र १९ वर्षीय रश्मी थापामगरको उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइन्छ । गएराति घरमाथिबाट आएको पहिराले थापाको घर पुरेको थियो ।
यसअघि पोखरा–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरामा पुरिँदा उनकी आमा ७० वर्षीया हिमकलीको घटनास्थलमै मृत्यु भएको थियो । वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध बनेको छ ।
उता लमजुङमा बिहीबार रातिको भीषण वर्षापछि गएको पहिरोमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
बेंसीसहर नगरपालिका–१०, खााचे घर भई हाल बेंसीसहर नगरपालिका ७, सातबिसेको तल्लो क्षेत्रमा बस्दै आएका अन्दाजी ३० वर्षीय दीपक तामाङ, उनकी पत्नी अन्दाजी २५ वर्षीया बिमाया तामाङ र उनीहरुका छोरा अन्दाजी ८ वर्षीय छेवाङ तामाङको पहिरोमा परी मृत्यु भएको हो ।
धाइतेहरूकाे बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।