उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन् । स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए ।
भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष विक निको भएपछि मङ्गलबार अस्पतालबाट घर फर्केका हुन् । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए । तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेका थिए ।
तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए । “मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्कँदै छु”, उनले भने । अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद ज्ञापन गरे । अस्पताल तोडफोडका विषयमा परिवार संलग्न नभएको उनले बताए।