भोलिदेखि मनसुन थप सक्रिय हुने भएकाले बाढीपहिरोको जोखिम बढ्ने मौसम पूर्वानुमान महासाखाले जनाएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले भोलि रातीदेखि मनसुन थप सक्रिय भइ बाढीपहिरोको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मञ्जु बासीले जानकारी दिए । मनसुन सक्रिय भएसँगै देशका धेरैजसो ठाउँमा लगातार पानी पर्नुका साथै तराई र पहाडका केही भूभागमा ठूलो पानी पर्ने उनले बताए ।
तराईका भूभागमा पानीको बहाव बढ्ने र पहाडमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।