कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको उपचारको क्रममा असार २० गते शनिबार बिहान ५ बजे मृत्यु भएको बताए । उनी मधुमेहका बिरामी थिए । उनी १७ गते कतारबाट नेपाल फर्किएका थिए ।
त्यसैगरी मृत्यु हुनेमा रुपन्देही देवदह नगरपालिकाका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी क्षयरोगको उपचार गराइरहेका थिए । उनको असार १७ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।
पछिल्लो २४ घन्टामा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले संक्रमितको संख्या १५ हजार ४९१ पुगेको जनाए ।