काठमाडौँ उपत्यकामा बन्दाबन्दी केही खुकुलो भएसँगै कोभिड–१९ को जोखिम कम गर्न स्वास्थ्य सावधानी अपनाउनुका साथै भीडभाड पनि कम गरेर उपत्यकामा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको जात्रा मनाउने तयारी गरिएको छ ।
बन्दाबन्दीका कारण सञ्चालन हुन नसकेकोे जात्रा सञ्चालनका लागि रथ निर्माणको काम शुरु भएसँगै पाटन क्षेत्रमा रौनक शुरु भएको छ । पहिलेका वर्षजस्तै सहज नभए पनि रोकिएको जात्रा शुरु हुन लाग्दा यहाँका स्थानीयवासी भने खुशी देखिएका छन् ।
गुठी संस्थान ललितपुर शाखाले पनि आवश्यक सावधानीसहित जात्राको तयारी गर्न थालेको छ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा यस वर्ष रोक्नुहुन्न भन्दै पाटनवासीले पटकपटक गुठीलाई घच्घच्याइरहेका थिए ।
अहिले रथ निर्माण गरेर जात्रा सञ्चालन गर्न यहाँका धार्मिक सङ्घसंस्था, भक्तजन र पुजारी पनि लागिपरेका छन् । गुठी संस्थान ललितपुर शाखाले बन्दाबन्दी पहिले नै रथ निर्माणका लागि आवश्यक सामग्रीको जोहो गरिसकेको थियो । त्यही सामग्रीबाट अहिले सामाजिक दूरी कायम गरी यही असार १० बाट रथ निर्माणको काम थालिएको शाखाका प्रमुख राजन भुजुले बताए । उनले भने, “ललितपुर महानगरपालिका, ज्यापु समाज, रथ निर्माणसँग सम्बन्धित व्यक्ति, धार्मिक सङ्घसंस्था र मच्छिन्द्रनाथका पुजारीले पटकपटक आग्रह गरेपछि यस कामलाई अघि बढाएका हाैं ।” रथ निर्माणमा संलग्न हुने व्यक्ति र समुदायको स्वास्थ्यमा ध्यान राखिएको उनले बताए । अहिले मिननाथको रथ निर्माणका लागि धमा बनाउने काम भइरहेको छ ।
एकादशीको दिनबाट मीननाथको रथ निर्माण कार्य शुरु भइसकेको छ । वैशाख शुक्ल प्रतिपदाका दिनमा रथारोहण गर्नुपर्ने भए पनि सो दिन गर्न नसकिएकाले राम्रो दिन हेरेर रथारोहण गर्न लागिएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताए। गत १० गते रथ बनाउन लागिएकामा दुई सातामा सकिएपछि यही असार २४ गते रथारोहण गर्ने तयारी गरिएको छ ।