काठमाडौँ उपत्यकामा मंगलबार थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका दुई पुरुष र भक्तपुरका एक महिलामा संक्रमण पुष्टि भएको हो।
पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँकी एक महिला र ललितपुरका एक पुरुषमा संक्रमण देखिएको हो।
यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ४ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा नेपालमा ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ। जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन्।
नेपालमा अहिलेसम्म २९ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाइसकेका छन्।