प्रदेश ३ नं का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रालयहरुले गरिरहेको कार्यसम्पादनबारे समिक्षात्मक छलफल गरेका छन् । प्रदेशका सातवटै मन्त्रालयले अहिलेसम्म गरिरहेको कानून निर्माणको काम तथा हालसम्म कार्यान्वयन भएको बजेटका बारेमा मुख्यमन्त्री पौडेलले जानकारी लिएका हुन् ।
मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले गरेका काम कार्बाही, कानुन निर्माण, बजेट खर्च, योजना निर्माणका बिषयमा छलफल गर्दै मन्त्रालयहरुको प्रगतिकोबारेमा सोधखोज गर्दै आगामी दिनमा गर्नुपर्ने सुधारका बारेमा सम्बन्धित मन्त्रालयहरुलाई ध्यानाकर्षण गराएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
‘मुख्यमन्त्रीले सम्बन्धित मन्त्री र सचिवहरुलाई कार्यान्वयनमा आएका कानूनको पालना, नयाँ कानूनको निर्माण तथा बिनियोजित बजेट कार्यान्वयनका सन्दर्भमा प्रभावकारी काम गर्न निर्देशन दिएकाे’, मुख्यमन्त्री कार्यालय स्रोतले भन्यो ।
समिक्षा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापित, सामाजिक बिकास मन्त्री युवराज दुलाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, ३ नम्बर प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल मन्त्रालयका सचिवहरु सहभागी थिए ।
यसैबीच संविधान दिवस मनाउनका लागि मुख्यमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन भएको छ । दिवसलाई व्यवस्थित बनाउन विभिन्न ६ वटा उपसमितिहरु समेत निर्माण गरिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलको संयोकत्वमा प्रचार प्रसार उपसमिति, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको संयोजकत्वमा मञ्च व्यवस्थापन समिति, प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको संयोजकत्वमा कवाज तथा प्रभातफेरी व्यवस्थापन समिति, सामाजिक विकास मन्त्रालयको संयोजनमा रचनात्मक क्रियाकलाप व्यबस्थापन समिति, ३ नम्बर प्रदेशका मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपानेको संयोजकत्वमा विचार गोष्ठी उपसमिति र जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलालको संयोजकत्वमा राजनितिक दल समन्वय तथा जनपरिचालन उपसमिति निर्माण गरिएको छ ।