गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार बिहान दिएको जानकारीअनुसार मनाङको चामे गाउँपालिकाका एक कर्मचारीसहित पूर्वी नवलपरासीमा १८, तनहुँमा १२ र गोरखामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २८९ पुगेको छ। हिमाली जिल्ला मनाङमा कोरोना संक्रमण देखिएको पहिलो पटक हो।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन्। डा. शर्माका अनुसार दुई जनाको भने उमेर खुलेको छैन। पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ।
तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना छन् । उनीहरु १८ वर्षदेखि ५२ वर्ष उमेर समूहका पुरुष हुन्।
यस्तै, गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहिद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया एक जना महिलामा संक्रमण देखिएको छ। शहिद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।