रुपन्देहीमा पाँच जनाको सामूहिक हत्या भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा गए र राति सामूहिक हत्या भएको हो।
जिल्लाको तिलोत्मा १० कान्छी बजार नजिक मैनहवा गाँउमा १ जनाले आफ्नै ५ जना साथीको हत्या गरेका छन्।
घटनास्थलमै चार जनाको हत्या भएको थियो भने एकजनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न भएको शंकामा एकजना पक्राउ गरेको छ।
मृत्यु हुनेहरुमा एक जना महिला र चार जना पुरुष छन्। मैनहवास्थित गाउँमा सोमबार राति एक युवकले आफ्नै साथीहरुको हत्या गरेका हुन्। मृतक र हत्या गर्ने दुवै स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुर रहेको स्थानीय घनश्याम चौधरीले बताए।
मंगलापुर प्रहरी चौकी इन्चार्ज थापाले प्रहरी टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए। उनका अनुसार अहिले प्रहरीले घटनाको विवरण संकलन गर्दै छ। किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन। वडाध्यक्ष ब्यासमुन थारुले पनि घटनाको पुष्टि गर्दै आफू त्यस गाउँमा जान लागेको बताए।
डिएसपी खड्गबहादुर खत्रीका अनुसार एउटा फार्ममा शव भेटिएको र थप अनुसन्धानको लागि टोली परिचालन गरिएको छ। प्रहरी स्रोतका अनुसार बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शवहरु फेला परेका छन्।