रौतहटमा थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। बुधबार बिहान २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको हो। योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ।
चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका गढिमाई नगरपालिकाका ७ जना, गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २ र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो। उनीहरु सबै भारतबाट आएका नेपाली हुन्।
पछिल्लो समय दिनहुँ भारतबाट रौतहटमा सयको हाराहारीमा नेपाली भित्रिने गरेका छन्। यसअघि मंगलबार मात्रै रौतहटमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।