कोरोना भाइरसका कारण लकडाउनको मौका छोपी कपिलबस्तुमा चोरी शिकारी गर्ने गिरो सक्रिय भएका छन्। सवडिभिजन वन कार्यालय पिपराले वन्यजन्तु शिकार खेलिरहेको अवस्थामा हतियारसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा शितगंगा नगरपालिका वडा नं. १४ का ३८ वर्षीय दिलबहादुर सिजापति रहेको डिभिजन वन कार्यालय कपिलबस्तु तौलिहवाका सहायक वन अधिकृत मदन मोहन शाण्डीलले बताए। उनको साथबाट भरुवा वन्दुक थान २ र वन्दुकमा प्रयोग हुने सामान सहित पक्राउ गरी हिरासतमा राखिएको छ।
वाणगंगा न.पा २ अन्तर्गत मायादेवी साझेदारी वन क्षेत्रको पिपरा व्लकको कम्पार्टमेन्ट नं ५ मा पर्ने वनभित्र विना इजाजत हातहतियार सहित वन्यजन्तु शिकार खेलिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका सिजापतिमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ। राष्ट्यि निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्य जन्तु शिकार सम्वन्धी मुद्दा चलाईने कार्यालयले जनाएको छ।
त्यस्तै वाणगंगा न.पा. १० अन्तर्गत मायादेवी साझेदारी वन क्षेत्रको मझौवा वन क्षेत्रभित्र सव डिभिजन वन कार्यालय, पटना तथा साझेदारी वनका हेरालु समेतको टोलिले गस्ती जाने क्रममा सिसौको रुख काटी ढाली टुनटुक्रा गरी चोरी निकासी गर्नका लागि लुकाई छिपाई राखेको अवस्थामा गोलिया थान ४ को २४.०२ घ.फिट काठ वरामद गरिएको छ। त्यसबारे थप अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ।