करीब डेढ दशकअघि ४ वर्ष रेडियो समाचारकर्म गरेर विदेशिएसँगै गुग्लीयल्मो मार्कोनीको आविष्कारसँग सम्बन्ध विच्छेद नै भयो। ३ वर्षको पुनरागमनपछि न्यू मिडियाका सुविधा प्रिय भए। तर, ‘लकडाउन’ लम्बिदा समय कटाउने विकल्पहरुमा रेडियो रोजे । सँगै पुराना स्मृतिहरु स्फोट भए।
रेडियोकर्मको पहिलो दिन समाचार कक्षमा आधा दर्जन नवप्रवेशी थियौं। समाचार प्रमुखले सामान्य जानकारी दिने क्रममा म पछिल्तिरको डेस्कटप देखाउँदै ‘रन्जन, त्यो कम्प्युटर अफ गर’ भन्नुभयो। म अलमलमा परें, साथीले सहयोग गरे। घरमा कम्प्युटर थिएन, अन्यत्र सिकेको थिइन। भोलिदेखि त्यही कम्प्युटरसँग खेल्नु छ, कसरी पार लगाउने भनी गम्न थालें। पहिला अवसर पाउँदा नसिकेकोमा पछुतो लाग्यो। धन्न रिपोर्टरको परीक्षामा कम्प्युटर प्रयोगात्मक थिएन। धेरै अग्रजले डेस्कटपमा समाचार टाइप गर्नुहुन्थ्यो। हामी (एक जना बाहेक) लाई नेपाली टाइप फलामे चिउरा थियो। डेस्कटपको कमी र आफ्नो सहजताका कारण केहीले ब्द्ध पाना आधा बनाएर लेख्नुहुन्थ्यो। टाइप पनि त्यसरी नै गरेर वाचन गरिन्थ्यो। रिपोर्टिङक लागि सार्वजनिक यातायातको भर थियो। हामी कसैसँग मोटरसाइकल थिएन, (म सँग त अहिले पनि छैन)। आक्कलझुक्कल ‘लिफ्ट’ मिल्थ्यो। रिपोटिङका लागि पेजर उपलब्ध गराइएको थियो जुन मेरो लागि अहिले विस्मृतप्रायः छ।
काम गरेको लामो समयसम्म वाचनको अवसर मिलेको थिएन। चिनेजानेकाहरुले ‘कहिले सुन्ने रेडियोमा आवाज’ भनी प्रश्न गर्थे। रेडियोमा बोल्न पाउनु प्रमाण र प्रतिष्ठासँगै धोकोको विषय थियो। हामीमध्ये पहिले म ‘अन एअर’ गएँ । केही पटक सम्पादकलाई अडियो सुनाएपछि लक्ष्मीपूजाको दिन अपरान्हको बुलेटिनबाट श्रोतामाझँ सुनिएँ। खुसीको अवर्णनीय क्षण थियो त्यो। एक महिला सहकर्मीले मिहेनत गरेर समाचार प्रमुखलाई अडियो सुनाइन्। अनुमति पाएपछि समाचार वाचन गर्न गएकी उनी बीचमै रोक्किइन् र अर्कोले स्थान दिनुप¥यो। हामीलाई ‘लाखौं श्रोताहरु तपाईलाई प्रत्यक्ष सुनिरहनुभएको हुन्छ, हेक्का राख्नुपर्छ’ भनिन्थ्यो। मेरो ठम्याइमा त्यही वाणीले उनको वाणीमा अल्पविराम लगायो। निक्कै समय उनले नराम्रो मानिन्।
समाचार प्रमुखले कहिलेकाही ‘विनाकारण’ रिपोटिङमा खटाएझैं लाग्थ्यो। अफिस आउँदा समाचार पहिल्यै बनिसकेको मात्र होइन ‘अन एअर’ भैसक्थ्यो। थकानमा उदेक र रिस सँगै मिसिन्थे। पछि बुझियो, त्यस्ता खटाइले जनसम्पर्क, स्रोतको बिस्तारसँगै बुझाईको क्षितिज फराकिलो बनाए। तर, रेडियो (एफएम) कर्मीहरुलाई सरकारी प्रेस पास बञ्चित गरिदाँ धेरै पटक एअरपोर्ट र सिंहदरबार प्रवेशमा रोकसँगै कैयौं घटना कभरेजको कठिनाइ परिवाद लाग्दथ्यो।
‘अन एअर’ का किस्सा रमाइला हुन्थे धेरै हस्तलिखित समाचार हुँदा अक्षर ठम्याउन गाह्रो र टाइप गरिएका पनि कति अशुद्ध हुँदा वाचनमा अल्पव्रेक लाग्दथ्यो। ‘अंग्रेजी फोबिया’ का एक सहकर्मी थिए। भर्खर भर्खर ‘अन एअर’ जाँदा उनले अन्तर्राष्ट्रिय र विदेशी खेलकुदका अंग्रेजी शब्द देख्ने बित्तिकै ‘यो समाचार तिमी पढ है’ भन्थे। पछि उनले त्यस्ता अंग्रेजी शब्द भए मिश्रित समाचारहरु ‘नपढेपनि हुन्छ’ भन्दै हटाइ दिन्थे। समाचारकक्षमा गफिंदा विदेशी खेलकूदलाई समाचार नै होइन वा श्रोताका खुराक होइनन् भनी अड्डी कस्थे। अन्तर्राष्ट्रिय समाचारलाई पनि त्यत्ति महत्व दिदैनथे। उनका लागि राजनीति इतर सामाग्री रुचिकर हुँदैनथे।
त्यस्तै, वाग्दोषका पनि घटना मिसिन्थे। एक सहधर्मीले एक पटक विदेशी क्रिक्रेटरको नाम उच्चारण गर्दा हाँसो रोक्न हम्मे परेको थियो। धेरैपछि अर्का एक मित्रले ‘पाकिस्तानमा डण्डी बढेका कारण’ (ठण्डी हुनुपर्ने) भनी समाचार पढ्दा पनि हाँसो छुटेको थियो। अहिले ती सम्झदा कक्षा ११ को अंग्रेजीको पाठ ुइयउक१ ज्यधुक त्जबत ब्नबष्ल रु मा रेडियो प्रस्तोताले ‘जेनेरल फुड्स’ लाई ‘जेनरल फुल्स’ उच्चारण गरेको ‘ब्लुपर’ याद दिलायो। स्टुडियोको टेलिभिजनबाट लाइभ अपडेटका अनुभव आजभोलि सामान्य लागे पनि त्यतिबेला ‘प्रयास’ थिए। केही श्रोताले तारम्तार फोनमा ‘ल हाम्रो समाचार फुकिदिनुप¥यो’ भन्दा अग्रज दाईले ‘समाचार फुक्ने होइन, प्रसारण गर्ने होे’ भनी आवेगमिश्रित प्रतिक्रिया जनाएको सम्झिदा हाँस उठ्छ।
वाचनको अभीप्साले अपेक्षाकृत केही पछि ‘स्याचुरेसन विन्दू’ छोयो। पहिला मरिहत्ते गर्ने हामी पछि कहिले मनौतीको प्रयास त कहीले ‘मेरो घाटी दुँखेको छ’ जस्ता बहाना मार्फत वाचन नगर्न खोज्थ्यौं। को जाने भनेर तर्क गर्दा गर्दै जिङ्गल बजेपछि समाचार कक्ष र स्टुडियोबीचको भ¥याङे दुरी मट्टै छिमल्थ्यौं। चाडपर्वमा भने राजधानी बाहिरका साथीहरु घर जाँदा काठमाडौं बस्नेहरुले ट्रिपल सिफ्ट् भ्याइन्थ्यो। अफिस नजिक साथीको डेरामा ‘म्यारिजे रात’ बिताएर भोलिपल्ट छकालमै कार्यालय पुग्ने मात्र होइन, कार्यालयमै रात पनि काटियो।
त्यसताका अफिसमा एउटामात्र गाडी भएका कारण नयाँहरुका लागि नेपाल बन्द कसरतको राम्रो अवसर हुन्थ्यो। कपनदेखि जावलाखेल र बेलुकी हिडेर (साथीहरु पनि) घर गइन्थ्यो। केही पछि गाडी सुविधा पाइयो। बन्दमा घर नजिक प्रेस लेखेको गाडी आउँदा छिमेकमा हैसियतको ग्राफ ह्वात्तै उक्लिएको आत्मसुख मिल्थ्यो। अनि त्यतिबेलै हो, हामी नयाँहरुले राजधानीका प्रायः तारे होटलहरुमा प्रवेशमात्र होइन, निःशुल्क मिठा र नयाँ परिकार खाने अवसर प्राप्त गरेको। त्यस्तबेला साथीहरुमाँझ ती ‘समाचार’ बन्थे।
‘हाउस अरेस्ट’ मा आज दुर्गा दाई पनि स्मृतिमा आए। अफिस अघिल्तिरको बुढ्यौली वयका दुर्गा दाईको चिया पसलका अनगिन्ती पारखी थिए। चियामा रम्ने म लगायत थुप्रैको बानीलाई उनले लतमा परिणत गरे। सजिलो, सस्तो र सुलभता (समाचारकक्षमै पनि आइपुग्थ्यो) का कारण चिया र ‘चौधरी सुप’ हाम्रा नित्य प्रायः खाजा हुन्थे। दुर्गा दाईकी निक्खर गोरी राम्री छोरी पनि बिर्सने कुरै भएन। एक मित्रलाई उनीसँग जोडेर खुबै जिस्काउथ्यौं हामी। आफ्नै अगाडि जिस्काउँदा पनि मन्द मुस्कानको मादन प्रतिक्रियामै उनी रोक्किन्थिन्।
एक छिमेकी काकीको भनाई पनि बिर्सिएको रहेनछु। एक वर्ष तिहारको समयमा घरमा एक्लै परें। लक्ष्मीपुजाको दिन अफिसबाट करिब ९ बजेतिर घरपुग्दा काकीले ‘घरघरमा दियो र झिलीमिली बत्ती बालेर लक्ष्मीपूजा गरियो भन्दै हुनुहुन्थ्यो समाचारमा, आफ्नै घर अध्ँयारो छ’ भन्दा नरमाइलो पनि लाग्यो। तर, विदेशमा पढ्दा साथीहरुले अपत्यारिलो तवरले ‘ए, रेडियोमा समाचार भन्ने रञ्जन तिमी नै हो? ल एकचोटी समाचार वाचन गर त’ भनेको सम्झदा भने खुसी लाग्दथ्यो। आजभोलि पनि तालिमका क्रममा जिल्ला विचरण गर्दा बेलाबखत यस्ता आग्रहहरुको पुनरावृत्तिले मन अझै प्रफुल्लित पार्छ।
तालिम अधिकृत, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)