कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ हजार नाघेको छ।
शुक्रबार बिहानसम्म विश्वभर ५३ हजार १५८ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा मात्र ५ हजार ९६५ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा फ्रान्समा सबैभन्दा धेरै १ हजार ३५५ जनाको मृत्यु भएको छ। यो सँगै फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३८७ पुगेको छ।
यसैगरी, अमेरिकामा ९६० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६ हजार ६२ पुगेको छ । संक्रमितको संख्या अमेरिकामा दुई लाख ४४ हजार ३२० पुगेको छ, यसमा पछिल्लो २४ घण्टामा २९ हजार ३१७ जना थपिएका हुन्।
स्पेनमा ९६१ ले थपिएर मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको छ। स्पेनमा संक्रमित हुनेको संख्या एक लाख १२ हजार ६५ पुगेको छ। इटालीमा थप ७६० जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १३ हजार ९१५ पुगको छ।
चीनमा भने मृत्युदरमा कमी आएको छ। पछिल्लो २४ घण्टामा ३५ जना संक्रमित भएका छन् भने ६ जनाको मृत्यु भएको छ। चीनमा अहिलेसम्म मृत्यु हुनेको संख्या ३३ सय १८ पुगेको छ। जर्मनीमा मृत्यु हुनेको संख्या ११ सय सात पुगेको छ भने इरानमा ३१ सय ६० र बेलायतमा २ हजार ९२१ जनाको मृत्यु भएको छ।
बिश्वमा १० लाख १५ हजार ५९ जनामा कोरोना भाइरस पुष्टि भएको छ। सबैभन्दा धेरै अमेरिकामा २ लाख ४४ हजार ८७७ जना संक्रमित भेटिएका छन्।